तनहुँ जलविद्युत् आयोजना ग्रामीण भेगमा विद्युतीकरण गर्दै

नेपालखोज २०७८ वैशाख १५ गते १४:०२


दमौली । हालसम्म विद्युत् सुविधा नपुगेको तनहुँका ग्रामीण भेगमा तनहुँ जलविद्युत् आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको छ । विद्युत् सेवा नपुगेका तनहुँका विभिन्न ठाउँमा आयोजनामार्फत विद्युतीकरणको काम अगाडि बढेको हो ।

आयोजनामार्फत जिल्लाका घिरिङ, ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी र देवघाट गाउँपालिकाका विद्युत् नपुगेका घरधुरीमा विद्युतीकरण गरिने इन्जिनीयर लक्ष्मण रेग्मीले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्न प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग विसं २०७५ मङ्सिर १३ गते ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताको अमेरिकी डलर ६१ लाख ५३ हजार अमेरिकी डलर र अर्थात, १४ करोड ८८ लाख रूपैयाँ रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले ३३/११ केभी वितरण लाइन निर्माण गर्ने भएको छ ।

विद्युतीकरणका लागि घिरिङ गाउँपालिका–४ कोटसाभुङ र बन्दीपुर गाउँपालिका–६ साराङघाटमा सबस्टेशन निर्माणको काम भइरहेको छ । तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गरिनेछ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड रूपैयाँ बजेट खर्च हुनेछ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

–––

प्रतिक्रिया