दूरसञ्चारको सेवा अनलाइनबाटै

नेपालखोज २०७८ वैशाख १५ गते १५:४४


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गरी अर्को सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताए ।

प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ ।

उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए । यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ ।

प्रतिक्रिया