दुई मेयर र पाँच उपमेयर माओवादीबाट निष्कासन

नेपालखोज २०७८ वैशाख १६ गते ७:१७

काठमाडौं । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा ९माओवादी केन्द्र०ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।

पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ । यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पेटलले बताए । स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको उनको भनाइ छ ।

‘पार्टीको विधानविपरीत काम गरेकाले उहाँहरुसित स्पष्टीकरण सोध्ने काम भयो,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ कि २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया