शुक्रबार, जेठ ४, २०८१

चौथो अध्यक्ष कप भलिबल : पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गालाई

नेपालखोज २०७८ वैशाख १६ गते ११:२०


खाेटाङ । खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले जितेको छ ।

गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो सेटमा हराउँदै नेपालेडाँडाले उपाधिमाथि कब्जा जमाएको हो ।

जिल्लाको पुरानो सदरमुकाम खोटाङबजारस्थित भगवती दीनानाथ माविको प्राङ्गणमा आयोजित महिलातर्फको प्रतियोगिताको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उचालेको छ ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीलाई सोझो सेटमा हराउँदै मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगितामा खोटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी पुरुषतर्फ २३ समूह र महिलातर्फ आठ समूहको सहभागिता रहेको खेल संयोजक एवम् खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका वडाध्यक्ष दीपेन थुलुङले जानकारी दिए ।

चौथो अध्यक्षक कप अन्तर वडास्तरीय महिला तथा पुरुष खुला भलिबल प्रतियोगिताको विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट समूह तथा खेलाडीलाई जनही रु पाँच/पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया