बिहीबार, वैशाख २०, २०८१

पत्रकार महासंघको भवनमा डोजर, दोषीलाई कारबाही नगरे आन्दोलनको चेतावनी

नेपालखोज २०७८ वैशाख १६ गते १३:०१

डडेल्धुरा । नेपाल पत्रकार महासंघ डडेल्धुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालयले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ।

महासंघलाई सूचना नदिईकनै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल प्रयोग गरेर भवनमा क्षति पुर्‍याइएको छ । घटनाप्रति महासंघले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासंघका जिल्ला अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।

महासंघले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीनतले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासंघसँग रहेका अवस्थामा प्रचलित कानुनविपरीत भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ ।

सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेल्धुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप विज्ञप्तिमा लगाइएको छ ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जानमा गल्ती भएको भनी जवाफ दिएका छन् । महासंघले जिल्लाका साधारण सदस्यबाट लेबी तोकेर निर्माण गरिएको सो भवनमा पुर्‍याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर चौबीस घण्टाभित्रै दोषीमाथि कारबाही नगरिए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया