रामचन्द्र पौडेल भन्छन्- गण्डकीका सांसदलाई षड्यन्त्र गरेर लुकाइयो

नेपालखोज २०७८ वैशाख १६ गते १४:११

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताएका छन् ।

नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाए । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि पनि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे ।

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच्ड अफ गरी गायब भएका थिए ।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीति सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ’आईसीयू’मा भर्ना भएका थिए। ‘मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजन हुनु अघि अस्पतालको आईसीयूमा भेटिनु शंकास्पद देखिन्छ,’ उनले भने ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालमा भेटिएका थिए ।

प्रतिक्रिया