प्रधानमन्त्रीले रूससँग माग गरेकाे ‘स्पुतनिक–भी’ भ्याक्सिनकाे विश्व बजारमा अवस्था कस्ताे छ ?

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।
नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।
औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले माग गरेकाे ‘स्पुतनिक–भी’काे अवस्था कस्ताे छ हेराैं
ब्राजिलको स्वास्थ्य नियामक संस्था एनविसाले सोमबार रूसले बनाएको स्पुतनिक भि भ्याक्सिन आयात गर्न रद्द गरिदिएको थियाे । एनविसाको बोर्ड मेंबरहरुले उक्त भ्याक्सिन नलिन सर्वसम्मति जुटाएको थियाे ।
रुसी भ्याक्सिनमा सबै किसिमको स्वास्थ्य मापदण्ड पुरा नभएको कारण ब्राजिलले सो भ्याक्सिन आयात गर्न नमानेको थियाे ।
स्पुतनिक भि भ्याकसिनमा गम्भीर खराबी भएको र यसले स्वास्थ्य समस्या पनि निम्त्याउन सक्ने भन्दै ब्राजिलले सो भ्याक्सिन नलिने बताएको थियाे ।
रुसी भ्याक्सिनलाई युरोपियन युनियनले पनि लिन मानेको छैन । युनियनले यसको निर्माण प्रक्रियामा आशंका व्यक्त गरेको छ । यसको परीक्षण राम्ररी गरेर मात्र प्रयोग योग्य रहे नरहेको पत्ता लगाउने युरोपियन युनियनले जनाएको थियो ।
प्रतिक्रिया