दिल्लीमा शव जलाउन घाट अभाव, नयाँ घाट व्यवस्था गर्न प्रहरी अधिकारीको आग्रह

काठमाडौं । भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ ।
दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले घाटका लागि नयाँ ठाउँ खोज्न सरकारसँग माग गरेका छन् ।
उपचारका लागि शय्या र अक्सिजन खोज्नुपर्ने तथा मृत्युपछि घाट पाउन मुस्किल भएपछि प्रहरी अधिकारीले थप घाटको व्यवस्था गर्न आग्रह गरेका बीबीसीले जनाएको छ । दिल्लीमा एउटै घाटमा थुप्रै शव जलिरहेका र थुप्रै शव पालो पर्खिरहेका दुःखद दृष्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ज्यान गुमाएका तीन हजार पाँच सय जनामध्ये दिल्लीका मात्रै चार सयभन्दा धेरै छन् । तर भारतीय सञ्चारमाध्यमले घाटमा जलेका शव हेर्दा त्यो सङ्ख्या निकै धेरै हुने बताइरहेका छन् ।
प्रतिक्रिया