शुक्रबार, जेठ ४, २०८१

नेपाल सुपर लिग : काठमाडौं र पोखराकाे बराबरी

नेपालखोज २०७८ वैशाख १७ गते २०:२७

काठमाडौं । काठमाडौं रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् । बराबरी खेलेका दुबै टोलीले एक/ एक अंक बाँढेका छन् । दुबै टोली तीन खेलबाट चार अंक बनाएका छन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो । यद्यपि काठमाडौं काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखरोको रक्षापंक्तिलाई चिर्न सकेन । दोस्रो हाफमा फरक रणनीतिका साथ खेल देखाएको काठमाडौंका धेरै प्रयास खेर गएका थिए । स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले आक्रमक सुरुआत गरेका थिए ।

तेस्रो मिनेटमा काठमाडौंका स्टेफन बियोङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । पोखराका मौसा अब्बाले छैठौं मिनेटमा सुनौलो अवसर गुमाए । पेनाल्टी क्षेत्रबाट गरेको फितलो प्रहार काठमाडौं रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिएका थिए ।

दोस्रो हाफको अन्तिम तिर पोखराले काउन्टर गर्दै स्पष्ट जित निकाल्न प्रयास गरे पनि सफल हुन सकेन । खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतान हेडरमार्फत गोल गरेपनि रेफ्रिले अफसाइडको संकेत दिएका थिए । खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

यससँगै काठमाडौ रेजर्स र पोखरा थन्डर्सले जारी लिगमा पहिलो बराबरी खेलेका छन । यस अघिका खेलमा दुबैले एक खेल गुमाउँदा एक खेलमा नतिजा निकालेका थिए । प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल धनगढी फुटबल क्लब र एफसी चितवन तथा दोस्रो खेल बुटवल लुम्बिनी र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया