शुक्रबार, चैत १६, २०८०

किन लगाइन्छ निधारमा तिलक वा चन्दन ? यस्तो छ कारण

नेपालखोज २०७८ वैशाख १८ गते ६:३६

काठमाडौं । निधारमा तिलक वा चन्दन लगाउनु हिन्दू धर्मको विशेषता हो । तिलक निधारको बीच भागमा लगाइन्छ । बिहान जप पूजा गरिसके पछि चन्दन, भस्म, केशर लगाइने गरिन्छ ।

तिलक लगाउने चलन प्राचीनकालदेखि चलिरहेको छ । यात्रा मंगलमय होस् भनेर घरबाहिर निस्कने मानिसलाई चन्दन लगाइन्छ । टीका लगाउनुको धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छ । खासमा हाम्रो शरीरमा सातवटा सूक्ष्म ऊर्जा केन्द्रहरू हुन्छन् । तीमध्ये एक आज्ञाचक्र हो । यो निधारको ठीक बीचमा अवस्थित हुन्छ ।

यो आज्ञा चक्रमा शरीरका तीन प्रमुख नाडीहरू इडा, पिंगला र सुषुम्ना आएर मिल्छन् । त्यसैले यसलाई त्रिवेणी पनि भनिन्छ । आज्ञाचक्रलाई शरीरको सबभन्दा पूजनीय स्थान मानिन्छ । यसलाई गुरुस्थान भनिन्छ किनकि यहीँबाट पूरा शरीर सञ्चालन हुन्छ र यो हाम्रो चेतनाको मुख्य स्थान पनि हो । ध्यान लगाउँदा पनि यही ठाउँमा मन एकाग्र गरिन्छ ।

साधारणतया यही ठाउँमा चन्दन लगाइन्छ । चन्दनको गुण नै शीतल हो । त्यसैले चन्दन लगाउँदा मस्तिष्कमा शान्ति र शीतलता प्राप्त हुन्छ । दिमागमा जोड परेर टाउको दुख्न थाल्दा चन्दन लगाउनुस् । बिहान उठेर नुहाउनेबित्तिकै निधारमा चन्दन लगाउने व्यक्तिलाई टाउको दुख्ने समस्या हुँदैन ।

महिलाहरूले सिउँदोमा सिन्दूर लगाउनुका पछाडि पनि एक कारण छ । खासमा रातो रंग ऊर्जा र स्फुर्तिको प्रतीक हो । यसरी तिलक लगाउँदा महिलाको सौन्दर्य बढ्छ । दशैंमा अक्षता लगाइन्छ । यसरी तिलकमा चामल मिसाएर लगाउँदा देवी प्रसन्न हुन्छन भन्ने मान्यता छ ।

प्रतिक्रिया