पूर्वसांसद एवं संस्कृत विश्‍वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

नेपालखोज २०७८ वैशाख १८ गते ९:४४

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवं राष्ट्रियसभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ ।

पशुपतिस्थित वैद्यखानामा आज (शनिबार) बिहान उनको निधन भएको हो । स्वास्थ स्थिति बिग्रिएपछि पौडेलको पशुपतिमा देहत्याग गर्ने इच्छाअनुसार उनलाई पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ ।

ओखलढुंगामा जन्म भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्काघात भएको थियो । उनको उपचार त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीमा पनि भएको थियो ।

पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए । पाैडेल सांसदहरुले भन्सार सुविधाको गाडी लिनु अनैतिक हुन्छ भनी बहिष्कार गर्दै नेपाली राजनीतिलाई सहि बाटो देखाउने स्वप्नद्रष्ठा थिए ।

त्यसैगरी उनी वाल्मीकि क्याम्पसका प्राध्यापक, पशुपति क्षेत्र विकास प्राधिकरणका पूर्वअध्यक्ष जस्ताे पदमा बसेर महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

क–कसले दिए श्रद्धाञ्जली

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पौडेलको निधनमा शोक व्यक्त गर्दै पौडेलको निधनले संस्कृत साहित्यमा अपूरणीय क्षति पुुगेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एक योग्य पुरुषको बिदाई पूर्वीय दर्शन तथा संस्कृत साहित्यका रत्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति, पूर्व राष्ट्रियसभा सदस्य आदरणीय विदुर पौडेल भौतिक रुपमा रहनुभएन । नेपालले एक रत्न गुमाएको छ भने संस्कृत साहित्यमा अपूरणीय क्षति पुगेको छ ।’

उनी नेपाली राजनीतिमा बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह एवं कृष्णप्रसाद भट्टराईका अनुयायीसमेत रहेको नेता भण्डारी बताउँछन् ।

यस्तै सांसद सुरेन्द्र पाण्डेले पनि पौडेलको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । ‘नेपाली राजनीतिका एक स्वच्छ एवं निष्ठावान व्यक्तित्व, पूर्वीय दर्शन र साहित्यका धुरन्धर विद्वान् प्रा.विदुर पौडेलज्युको दुःखद् निधनको खबरले स्तब्ध बनाएको छ । प्रजातान्त्रिक नेपाल निर्माणमा उहाँको योगदान स्मरणीय रहिरहनेछ ।’

यस्तै पूर्वमन्त्री शिव बस्नेतले पौडेलको इमानको प्रशंसा गरेका गदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘श्र्द्देय गुरु विदुर पौडेलको असामयिक निधनले मलाई स्तब्ध र मर्माहत बनाएको छ, राजनीतिमा छ्लकपटको साहाराबाट टाडै र र खुला र प्रस्ट स्वभावको राजनीति थियो, विदुर गुरुको ! संस्कृतका मर्मज्ञ तथा पूर्वीय दर्शनका विद्वान् हुनुहुन्थ्यो ! उहाँको देहत्यागले अपूरणीय क्षति पुगेको छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया