बिहीबार, वैशाख २०, २०८१

नेपाल सुपर लिग : चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

नेपालखोज २०७८ वैशाख १८ गते १८:२६

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि चितवन गोल गर्नबाट पटक पटक चुकेको थियो ।

खेलको २३ औं मिनेटमा चितवनका गोरान जेर्कोभिचले गोलको सुनौलो मौका गुमाए । जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले डाइभ हान्दै बचाएपछि आएको रिबाउन्डमा पेनाल्टी बक्सभित्र रहेका गोरानको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।

खेलको ३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्सले डिबक्स भित्रबाटको प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो ।

पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो । तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १-१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया