‘सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउँछाै’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताएका छन् ।चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै उनले भने, “आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न सहज हुनेछ, जो जहाँ रहे पनि फेस टू फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श गर्ने अवसर प्राप्त भएको छ ।”
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम र उत्तरदक्षिण एवं जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग, निर्माण र विस्तारको कार्य द्रुततर रुपमा अगाडि बढाइएको जानकारी गराए। उनले भने , “सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी कार्य अगाडि बढाइएको छ ।”
सूचना तथा सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा समग्र विश्व नै एक गाउँमा रुपान्तरण भएको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले आर्थिक सामाजिक रुपान्तरण एवं दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्बन गरिएका रणनीतिको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहँदै आएको बताए ।
विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह एवं सामाजिक अन्तर क्रियालगायतका विषयमा आधारभूत परिवर्तन आएको पनि उनले बताए । “डिजिटल पूर्वाधार तथा प्रविधिको विकास एवं विस्तार गरी अर्थतन्त्रमा सञ्चार तथा सूचना प्रविधिको योगदान बढाउने र सुशासन, समृद्धि र विकासका लागि नेपाल सरकारले रुपान्तरणकारी आयोजनाका रुपमा डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ”, प्रधानमन्त्री ओलीले भने, “डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, सहरी पूर्वाधार, वित्त, डिजिटल फाउन्डेशनलगायत आठ क्षेत्र र असी वटा डिजिटल पहलहरु समेटिएका छन् ।”
‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामनासमेत व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोग, निरन्तर विकास, विस्तार एवं गतिशीलताबाट प्राप्त अवसरको उच्चतम सदुपयोग गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो । साथै उनले सूचना तथा सञ्चार प्रविधिक्षेत्रसँग सम्बद्ध सबै सङ्घ, संस्था, निकाय, निजी क्षेत्र, सेवा प्रदायक तथा सबै सरोकारवालालाई समन्वय, सहकार्य र साझेदारीका लागि अनुरोध गरे ।
सूचना तथा सञ्चार प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको र सूचना प्रविधिसम्बन्धी विधेयक सरकारले सङ्घीय संसद्मा पेश गरिसकेको समेत प्रम ओलीले जानकारी दिए । दिवसका अवसरमा सरकारी सेवालाई बढी प्रविधिमैत्री बनाउन केही महत्वपूर्ण घोषणासमेत भएको छ । यस अगाडि नागरिक एपको बेटा भर्सन रिलिज गरिएकामा आजदेखि यसलाई औपचारिक रुपमै सार्वजनिक गरिएको छ ।
कोभिड–१९ महामारीको कठिन समयमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट जीवनरक्षाका लागि सुरक्षित रहन, सतर्कता अपनाउन, सचेतना जगाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएकाले वर्तमान कठिन परिस्थितिमा सञ्चार तथा सूचना प्रविधिको महत्व र आवश्यकता अझै बढेको तथ्य उनले प्रस्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुसुविधा सम्पन्न मोबाइल प्रणाली नागरिक एपको आइतबारबाट औपचारिक शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्रीले चौथो सूचना प्रविधि दिवसका अवसर भर्चुअल माध्यमबाट प्रधानमन्त्री निवास बालुवाटारबाटै यसको शुभारम्भ गरेका हुन् ।
सम्भव भएका सबै सरकारी सेवालाई एउटै एप्सबाट दिलाउने उद्देश्यको यो एप गत माघ २ गते देखि बेटा भर्सनको रुपमा सुरु भएको थियो । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेका छन् । यसै अवधिमा तीन हजार जनाले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट र १० हजार जना भन्दा बढीले प्यान नम्बर लिसकेका छन् ।
कार्यक्रममा कुनै पनि सेवा लिन नागरिकता, सबन्धित कागजात र फोटो लिएर सरकारीकार्यालय धाउनु पर्ने अवस्था अन्त्य गर्न एवं छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएका कारण एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको जानकारी कार्यक्रममा दिइयो नागरिक एप प्रणालीमा सम्बद्ध व्यक्तिका नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता आधारभूत विवरणहरु छन् ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ ।
एसएलसी र प्ल–सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाको सुविधा पनि यसमा थपिएको छ । नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ ।
प्रधानमन्त्रीले आजबाटै सुरु गरिएको एप्सबाटै क्यु आर कोड प्रयोग गरी बैंक खाता खोल्न सकिने प्रणालीको सुरुवात समेत गरेका छन् । उनले सो एपमार्फत आफ्ना विवरण पठाइ नेपाल बैंक लिमिटेडमा आफ्नो खाता खोलेर यसको सुरुवात गरेका थिए ।
शुभारम्भपछि कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवा प्रवाह देखि सामाजिक अन्तक्रिया समेतमा आधारभूत परिवर्तन आएको बताए । सेवालाई पेपरलस र फेसलेस९आफैं पुग्नुपर्ने झन्झटबाट मुक्त० बताउने उनकाे भनाइ थियो । यसअघिको डेटा सँस्करण मै उत्साहपूर्ण सहभागिता रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरे । आगामी दिनमा अन्य सरकारी सेवा समेत एपमा थपिने बताउँदै उनले यसबाट सार्वजनिक सेवालाई भ्रष्टाचार मुक्त र जवाफदेही बनाउन समेत मद्दत गर्ने पनि प्रधानमन्त्रीले बताए ।
‘सम्मृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाइएको सूचना प्रविधि दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उदारणीय काम गरेका सुधिर पराजुली, कुसुम लामा, हुआवे नेपाल र महालेखा नियन्त्रकको कार्यालयलाई यसवर्षको सूचना प्रविधि पुरस्कार दिइएको थियो ।



प्रतिक्रिया