‘जनताको जीवन रक्षाका लागि नै निषेधाज्ञा जारी गर्नुपरेको हाे’

नेपालखोज २०७८ वैशाख १९ गते १६:४६

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड १९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका भएको छ। कोभिड १९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका हुन्।

कोभिड-१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा छन् । विषम परिस्थितमा अघिल्लो पटक कोभिड-१९ का बेलाका सिकाईहरुलाई समेत आधार मान्दै अघि बढेका छौं, नेपाल आर्थिक पत्रकार समाजले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझाव लिँदै अर्थमन्त्री पौडेलले भने ‘सबैकाे साथ र सहयोगले कोभिड-१९ विरुद्धको लडाई जित्नुको विकल्प हामीसँग छैन !’

उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीयतहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए । जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए।

कोभिड- १९को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनर्उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताए । जनताको जीवन रक्षाका लागि नै ठाउँ-ठाउँमा निशेधाज्ञा जारी गर्नुपरेको बताउँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयहरुलाई पालना गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया