निषेधाज्ञाको चौथो दिन : क्रमशः थप कडा बनाइँदै

नेपालखोज २०७८ वैशाख १९ गते १८:३०

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएको आज चौथो दिन । सरकारले निषेधाज्ञालाई क्रमशः कडा बनाउदै लागेको छ । काठमाडौँ उपत्यकाको हरेक मुख्य चोकहरुमा प्रहरी तैनाथी र चेकजाँच कडाइका साथ गरिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शनिवार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा कडाई गरेसँगै प्रहरीले सवारीसाधन र व्यक्तिहरुलाई होल्डिंगमा राख्न थालेको छ । आधिकारिक पासबीना सवारीसाधन चलाउने, उद्देश्य र आवश्यकताबीना हिंडेका व्यक्तिहरुलाई प्रहरीले होल्डिंगमा राखेको हो । निषेधाज्ञा लागु गरिए पनि अत्यावश्यक सेवा र बैंक तथा वित्तिय संस्थाका सवारीसाधन अन्य सरकारी तथा नीजि क्षेत्रका कर्मचारीको आवागमनले सडकमा चाप घटेको थिएन् । निषेधाज्ञालाई थप कडाइ गर्दा पत्रकारहरु भने मारमा परेका छन् ।

सडकमा सवारीसाधनसहित हिड्ने सबैलाई सूचना विभागले जारि गरेको प्रेसपास अनिवार्य गरिएको छ । समाचार संकलनमा हिड्ने पत्रकार बाहेक कार्यालयभित्र बसेर काम गर्ने प्राविधिक अप्राविधिक कर्मचारीसँग सूचना विभागको कार्ड नहुने कारण समस्या परेको हो । यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा आवतजावत गर्न पाएका थिए ।

गत बिहीबार १६ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरि सकेको छ । त्यस्तै देशका प्रमुख शहरमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लगाउने क्रम जरी छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आजदेखि लागू हुँदैछ । मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया