सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीमा कोरोना संक्रमणको जोखिम उच्च

नेपालखोज २०७८ वैशाख १९ गते १९:३१

काठमाडौं । नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा अहिले सशस्त्र प्रहरी बलले गरिरहेको छ । कोभिड-१९ को संक्रमण बढेसंगै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरु पनि कोभिड-१९ संक्रमणको जोखिममा परेका छन् ।

भारतमा कोभिड- १९ संक्रमणको दोस्रो लहर चलेसंगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाईएको छ । यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसंगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भईरहेका छन् ।

त्यसमध्ये सिमा सुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरु संक्रमणको बढी जोखिममा रहेका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ । सशस्त्र प्रहरी बलले कोभिड-१९ को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए । संगठनभित्र ब्यारेकदेखि डियुटी खटिदासम्मको जोखिम मुल्यांकन गरेर काम गरिरहेको अर्यालले बताए ।

सशस्त्र प्रहरी बलका १ हजार भन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड-१९ बाट संक्रमित भईसकेका छन् । अहिले आईसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराईरहेका छन् । कोभिड-१९ को दोस्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भएपनि संक्रमितको चाप बढेकोले चुनौती थपेको अर्यालले बताए ।

अस्पतालको चापलाई थेग्न स्वास्थ्यसंग सम्बन्धित जनशक्ति अपुग भएको भन्दै उनले वर्तमान अवस्थामा आवश्यक जनशक्तिसंगै प्राविधिक सामाग्री पनि थप्न सके अस्पतालले कोभिड-१९ विरुद्धको उपचारमा महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरि अहिलेसम्म ४० हजार बढी सुरक्षाकर्मीहरु कोरोना संक्रमित भईसकेका छन् । कोभिड-१९ का कारण १० जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । सामुहिकरुपमा ब्यारेकमा बस्ने भएकाले एकजना सुरक्षाकर्मी मात्रै संक्रमित भए संक्रमित सम्वद्ध पुरै युनिट जोखिममा पर्ने खतरा छ । त्यसैले पनि सरकारले अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मीका लागि स्वास्थ्य सर्तकताका मापदण्ड व्यवहारमा कार्यान्वयन गर्दै सुरक्षाका लागि आवश्यक श्रोत र साधन पर्याप्त मात्रामा उलपब्ध गराउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया