सेनालाई त्वं शरणम् भन्दै दिल्ली सरकार

काठमाडाैं । भारतकाे राजधानी दिल्लीकाे सरकार काेराेना नियन्त्रणमा निरास हुँदै गएपछि सेनाकाे त्वं शरणम्मा पुगेकाे छ । दिल्लीमा कोरोनाले हाहाकार मच्चाइरहेको छ । रोगीहरूको ठूलो संख्यामा मृत्यु भइरहेको छ । यसैबीच संक्रमण नियन्त्रण तथा रोगीहरूको ज्यान बचाउनका लागि दिल्ली सरकारले सेनाको सहायता मागेको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले रक्षामन्त्री राजनाथ सिंहलाई पत्र लेखेर सेनाको सहयोग मागेका हुन् ।
डीआरडीओले तयार पारेको जस्तो अस्पताल अरू पनि बनाउनुपर्ने उनले पत्रमा लेखेका छन् । अक्सिजन सिलिन्डरदेखि लिएर अन्य सबै व्यवस्थाका लागि पनि भारतीय सेनाबाट सहयोग मागिएको छ । होम आइसोलेसनका विषयमा नयाँ रणनीति बनाउने विषयमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अधिकारीहरूसँग बैठक गर्ने भएका छन् ।
केही दिनअघि दिल्ली उच्च अदालतले दिल्ली सरकारलाई सेनाको सहयोग किन नलिएको भन्दै हकारेको थियो । सेनाको आफ्नै काम गर्ने तरिका छ र आफ्नै संरचना छ, किन उसको सहयोग नलिएको भनी अदालतले सोधेको थियो । दिल्ली सरकारका वकिलले यसको प्रक्रिया अघि बढिरहेको बताएका थिए ।
प्रतिक्रिया