बुधबार, जेठ २, २०८१

‘महामारी नियन्त्रणका लागि वाग्मती प्रदेश सरकार तयार छ’

नेपालखोज २०७८ वैशाख २० गते १८:३४

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना महामारी रोक्न कुनै कसर बाँकी नराखिने बताएकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै क्षेत्र लाग्नुपर्ने बताइन् ।

सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले प्रदेश मातहतका सबै अस्पताल तथा स्वास्थ्य संस्था एवं स्थानीय तहलाई महामारी नियन्त्रणका लागि लाग्न अनुरोध गरिएको जनाउँदै महामारी नियन्त्रणका लागि गरिने सम्पूर्ण खर्च गर्न सरकार तयार रहेको बताए ।

मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईँले देशका कूल संक्रमितमध्ये वाग्मतीमा आधाभन्दा बढी भएको जानकारी दिए । उनका अनुसार नेपालमा कूल संक्रमित तीन लाख ३६ हजार ३० रहेकोमा वाग्मतीमा मात्रै एक लाख ८३ हजार ३०५ जना छन् ।

डा सेढाईँले पछिल्लो २४ घण्टामा प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरमा सबैभन्दा बढी नयाँ संक्रमण देखिएको जानकारी दिए । उनका अनुसार प्रदेशका ४१५ सघन उपचार कक्ष शय्यामध्ये २८० मा बिरामी भर्ना भएका छन् । त्यस्तै भेन्टिलेटर बेडको संख्या १६० रहेको र तिनमा भर्ना भएका बिरामी ९० जना रहेको जनाइएको छ ।

प्रतिक्रिया