शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमण नियन्त्रणका लागि दिल्लीले गुहार्‍यो सेनालाई

नेपालखोज २०७८ वैशाख २१ गते ९:४३

दिल्ली । भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन् । कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ । यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्तिलगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए ।

त्यस्तै, अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर बराबरको औषधी पठाउने भएको छ । सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ । कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई मानवीय सहायतास्वरूप अत्यावश्यक औषधी पठाउन लागिएको जानकारी दिएका छन् । कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो आकारको मानवीय राहत प्रयास भएको पनि उनले बताएका छन् ।

त्यस्तै, भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ ।

प्रतिक्रिया