देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २१ गते १०:१३

काठमाडौं । देशका विभिन्न जिल्लामा कोरोनाले थप १२ जनाको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन्। बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गएराति ७ बजे यता नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ८० वर्षीय पुरुष र ५५ वर्षीय पुरुष छन् भने बाँकेका ७० वर्षीय पुरुष र ६५ वर्षीया महिला छन्।

त्यस्तै कैलालीमा थप तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालले संचालन गरेको कोभिड अस्थाई अस्पतालमा उपचारका क्रममा बझाङका २६ बर्षीय पुरुष, बर्दियाका ३० बर्षीय पुरुष र धनगढीका २२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका डाक्टर दिलिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार बझाङका पुरुषको गएराति साढे ८ बजे, धनगढीका पुरुषको गएराती साढे १० बजे र बर्दियाका पुरुषको राति साढे १ बजे मृत्यु भएको हो।

त्यस्तै, पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेशनल मेडिकल कलेज कोरोना अस्पतालमा उपचार गराइरहेका ३४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

त्यस्तै, बागलुङमा कोरोना संक्रमणका कारण स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी सदस्य ३० वर्षीया महिला जनप्रतिनिधिको उपचारका क्रममा गएराति धौलागिरी अस्पतालमा मृत्यु भएको अस्पतालका डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।

त्यस्तै, भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन्।

त्यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । भने मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ४१ वर्षिया एक महिला रहेकी छिन्।

प्रतिक्रिया