‘गण्डकीको प्रदेश प्रमुखको रुपमा कार्यकाल आनन्दमा बित्याे’

नेपालखोज २०७८ वैशाख २१ गते १३:१६

काठमाडौं । सोमबार मात्रै पदमुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गण्डकीको प्रदेश प्रमुखको रुपमा कार्यकाल आनन्दमा बितेकाे बताएका छन् ।उनले प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नै आफूले राजीनामा दिन चाहेको पनि उल्लेख गरेका छन्। मंगलबार पोखरामा बिदाइ पत्रकार सम्मेलन गर्दै उनले आफूलाई त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेको बताए। ‘देशमा ठीक स्थिति आउँदैन भनेर म राजीनामा लेखेर खल्तीमा राखेर गएको थिएँ। म राजीनामा दिँदै छु भनेँ,’ उनले भने, ‘म पदबाट राजीनामा दिन तयार भएको थिएँ, तर प्रचण्डजीले रोकिदिनुभयो। उहाँले अहिले नदिनु भन्नुभयो।’

त्यतिबेला अदालतको निर्णय पनि आइसकेको थिएन। उहाँलाई फेरि एकता हुन्छ भन्ने लागेको थियो होला। ‘फेरि अर्को अवस्था आउला, तपाईं जस्तो सिनियर दाइले यस्तो नगर्नुस् भनेर रोक्नुभयो। र मैले राजीनामा पेश गरिनँ। मचाहिँ त्यतिबेलै राजीनामा दिएर बाहिर आउने पक्षमा थिएँ,’ उनले भने, ‘जनतालाई अपिल गर्ने पक्षमा थिएँ।’ आफूलाई पदमुक्त गर्नुलाई उनले प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै एकदम निरंकुशतातिर गइरहेको आफूलाई अनुभूति भएको उनले बताए। ‘निरंकुशताको पराकाष्ठाको एउटा सूचक हो भन्ने मलाई लागेको छ’,’ उनले भने।

उनले आफूले पदमा रहँदा गल्ती नगरेको दाबी गरे। ‘तिमीले यहाँनेर गल्ती गर्‍यौ भनेको भए मैले पछाडि फर्केर हेर्नुपर्ने हुन्थ्यो। हेर्थेँ होला,’ उनले भने, ‘यस्तोयस्तो गल्ती भयो, अब प्रदेश प्रमुख फेर्नुपर्‍यो भनेको भए म राजीनामा दिन्थेँ। राजनीतिक कारणले पदमुक्त गरिएको भने मैले राजनीतिक पक्षपात गरेको प्रमाण हुनुपर्‍यो। सरकारले जे ल्यायो। मैले संविधान र नियम हेरेर सदर गर्ने गरेको छु।’

गण्डकी प्रदेशको पछिल्लो विशेष अधिवेशन बोलाउन विषयसँग आफूलाई पदमुक्त गरिएको हुनसक्ने विषयलाई उनले अस्वीकार गरे। त्यसमा कसैले दबाब नदिएको र आफूले कसैसँग सल्लाह पनि नगरी निर्णय गरेको उनले बताए। ‘त्यसमा मुख्यमन्त्रीले पनि केही पनि भन्नुभएको थिएन,’ उनले भने।

शेरचनले आफूलाई प्रधानमन्त्री ओलीले नै पटकपटक प्रदेश प्रमुख बनाउन प्रयास गरेको तर आफूले अस्वीकार गरेको बताए। ‘वास्तवमा असार (२०७६) कै महिनादेखि ओलीजीले मलाई पटकपटक प्रस्ताव गर्नुभयो। मैले अस्वीकार गर्दै आएँ। प्रतिनिधिमार्फत फेरि प्रस्ताव पठाउनुभयो। मैले अस्वीकार गरेँ। अन्ततः उहाँले पार्टीको निर्णय गरेर सुनाउनुभयो। र म यहाँ आएको हो। मैले त्यतिबेला मलाइ यो पदमा नपठाउनुस् भन्थें। म सक्रिय राजनीतिमा विश्वास गर्ने मान्छे हो। म सक्रिय राजनीतिमै आफ्नो जीवन अन्त्य गर्न चाहन्छु,’ उनले भने।

आफ्नो जीवन नै संघर्षमा बिताएको हुनाले अब पनि राष्ट्रियता पक्षमा र भ्रष्टचार तथा कमिशनतन्त्रको विरुद्धमा संघर्ष गरिरहने उनले बताए। ‘म निर्मल लामा प्रतिष्ठानको अध्यक्ष थिएँ। मैले अभियान सुरु गरिसकेको थिएँ। त्यसले एउटा वेभ सिर्जना गरिसकेको थियो। मैले पार्टीको बैठकमा पनि खुला रुपमा प्रस्तावहरु राख्ने गरेको थिएँ। त्यसैले गर्दा पनि होला सायद, मलाई यो खुला जेलभित्र पठाउन भूमिका खेलिएको। मलाई त्यस्तै लाग्छ,’ उनले भने।

गण्डकीको प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यकाल आनन्दमा बितेको बताए। ‘काम गर्नु छैन। अधिकार केही छैन। आनन्दसँग बसेको छ, खाएको छ। कोरोनाले झन् घरैभित्र बस् भन्यो। झन् आनन्द!,’ उनले भने।

अमिक शेरचनले आज जारी गरेको विज्ञप्ति :

प्रेस वक्तव्य
आदरणीय पत्रकार साथीहरू :
प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यस बीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ‌। यहाँहरुप्रति आभार व्यक्त गर्दछौँ ।
पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल लामा र क.मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरें । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।

सन्त नेता क.मनमोहन अधिकारीको निधन पछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धती र अपाच्य दृष्यहरु थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहारावर्गको इमान्दार साथी हुँ र वर्गसंघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रामाज्यवादविरुद्धको संघर्षहरु पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका षड्यन्त्र र गद्दारी गरेको छैन । न त अरबौं कमिसन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयातना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।

संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटकपटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस् !कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी–पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।
यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको थिए । कुनैपनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे–जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।
अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताहरु बीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपील छ ।
अमिक शेरचन
२०७८/०१/२१

प्रतिक्रिया