सोमबार, वैशाख १७, २०८१

डोटी, हेटौँडा र बाँकेमा कोरोना सङ्क्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २२ गते ११:४३


डोटी । डोटीमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।

मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी पहिलो हुन् । मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

मृतकको शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । त्यस्तै कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ । यसैबीच बाँकेमा उपचारका लागि भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका–५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार यही वैशाख १० गते भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका ६० वर्षीय पुरुषको गए राति मृत्यु भएको थियो भने वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएका २७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

बिरामीको रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै पनि स्वास्थ्य अवस्थामा सुधार नआई उनीहरूकाे अस्पतालमै मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र नेपाली सेनाले परिवारसँगको समन्वयमा तयारी गरिरहेको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुगेको छ ।

प्रतिक्रिया