अहिलेको प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा: महासंघ

नेपालखोज २०७८ वैशाख २२ गते १७:३३


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ ।

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले अहोरात्र काम गरिरहनु भएको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले भने, ‘पछिल्लो तथ्याङ्क अनुसार महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीहरु मध्ये ताप्लेजुङ्गमा २ जना, काभ्र्रेमा १ जना कैलालीमा २ जना पर्सामा १ जना सुर्खेतमा २ जना बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवालनपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाईसकेकाछन भने ११९ जना हाम्रा लघु, घरेलु तथा साना उद्यमीहरु कोभिड संक्रमित भई उपचारमा रहेका छन् ।

‘यस्तो बेला हामी देशभरका आम जनसमुदाय र हाम्रा लघु घरेलु तथा साना उद्यमीहरुलाई सरकारद्घारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि समेत सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्दै स्थानीय र देशकै आपूर्ति व्यवस्थालाई सुचारु गर्न र गराउन आब्हान गर्दछौं ।’ उनले भने ।

कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालको बेलामा समेत आन्तरिक राजश्व विभागले जसरी भएपनि कर तिर्न आउन भन्नु दुःखद कुरा भएको भन्दै अध्यक्ष गिरीले भने – ‘अहिले सवै क्षेत्र जस्तै हामी लघु घरेलु तथा साना उद्योगी खुल्ला हिंड्ने र कर तिर्ने अवस्थामा छैनौं । त्यसैले हामी सरकारलाई कर तिर्ने म्याद कम्तीमा छ महिना बढाउन विनम्र अनुरोध गर्दर्छौ ।’

यस्तो विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व र कर्तव्यलाई समेत विर्सेर केही बैंकहरुले उद्योग व्यवसाय कर्जामा अत्याधिक ब्याज लगाइ उद्यमी व्यवसायीलाई मर्माहत पारिरहेको उनकोे गुनासो छ । यस सन्दर्भमा हामी सम्बन्धित बैंकहरुलाई बैंकर्स एसोसिएनसन मार्फत यस्ता निर्णयहरु सच्याई कोभिड प्रकोपको यस परिस्थितिमा सुमधुर व्यवसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थाहरुसँग उनको आग्रह छ ।

पुनकर्जाका सम्बन्धमा राष्ट्र बैंकले प्रस्ताव गरेको पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानहरुले आफना उद्यम व्यवसायमा काम गर्ने कामदाहरुलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रुपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने भन्ने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागु हुने अवस्था नरहेको महासंघका अध्यक्ष गिरीको भनाई छ ।

मूलत सरकारले यो व्यवस्था जारी गरिसकेपछि लघु, घरेलु र साना उद्योगको हकमा लागु गर्न केही समय थप गर्ने भन्ने सहमतिकै बीचमा पहिलो कोरोना कहर शुरु भई सम्पूर्ण उद्योग व्यवसाय बन्द भएको जग जाहेर रहेको भन्दै उनले भने, – ‘त्यसैले पुनकर्जा कार्यविधिमा प्रतिकुल परिस्थितिमा पनि सञ्चालन भएका उद्यम व्यवसायको हकमा यो व्यवस्थालाई खुकुलो गरी सम्बन्धित निजी क्षेत्रको छाता संस्थाको प्रतिनिधि, नेपाल राष्ट्र बैंक, घरेलु कार्यालय, कर कार्यालय र सम्बन्धित बैंकको प्रतिनिधि समेत रहेको अनुगमन तथा छानबीन समितिको सिफारिशको आधारमा पुनकर्जा दिने प्रवधान राख्न नेपाल राष्ट्र बैंकसँग हामी हार्दिक अनुरोध गर्दछौं ।’

कामदारको न्यूनतम पारिश्रमिकको हकमा ट्रेड युनियन, रोजगारदाता र सरकारको बीचमा छलफल चलिरहेको बेलामा कोभिडको दोस्रो कहर शुरु भई सहमतिमा पुग्न नसकेकै अवस्थामा सरकारले एक पक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकी लागु गर्ने मिति समेत राजपत्रमा उल्लेख गर्नु दुःखद कुरा भएको उनको भनाई छ ।

त्यसैपनि लघु, घरेलु तथा साना उद्योगीहरु कोरोना लगायतका प्रतिकुलताका कारण कतिपय बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले न्यूनतम पारिश्रमिकका सम्बन्धमा सरकारले अहिले गरेको यो व्यवस्थाले लघु, घरेलु तथा साना उद्योगलाई अझै थिलोथिलो बनाई बन्द गर्ने अवस्थामा पु¥याउने निश्चित भएको बताए ।

त्यसैले त्रिपक्षीय वार्तामा भएको अन्तिम सहमति अनुसार रु. सात सय बढाउने पक्षमा महासंघ रहेको हुँदा यो विषयमा विचार गर्न नेपाल सरकार र टे«ड युनियनका साथीहरुसँग महासंघका अध्यक्ष गिरीले आग्रह गरे ।

प्रतिक्रिया