राष्ट्रियसभाको निर्वाचनमा विपक्षी दल एक ठाउँमा

काठमाडौं । राष्ट्रियसभा वाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उप-निर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षसमेत गरी विपक्षी दलका शीर्षनेताको मंगलबार र बुधबार बसेको बैठकले एमालेको केपी ओली पक्षका उम्मेदवारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको हो ।
जसअनुसार यो समूहले वाग्मती प्रदेशमा रिक्त सदस्य पदमा खिमलाल देवकोटालाई अघि बढाउने निर्णय गरेको छ । उनी नेकपा एकता हुँदा प्रचण्ड–नेपाल समूहनिकट थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादवको ललितपुर हात्तिवनस्थित निवासमा बुधबार बिहान भएको ती दलका नेताको छलफलपछि यस्तो निर्णय भएको हो । एमालेको ओली पक्षले भनेलाई वाग्मतीमा रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको खबर राजधानी दैनिकमा छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा रिक्त पदमा भने कांग्रेसतर्फबाट उम्मेदवार हुने व्यक्तिलाई सघाउने विषयमा सहमति भएको छ । राष्ट्रियसभामा उम्मेदवारसहित २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने विषयमा मंगलबार र बुधबार कांग्रेस, माओवादी, जसपाको उपेन्द्र पक्ष र एमालेको माधव नेपाल पक्षबीच छलफल भएको थियो ।
लुम्बिनीमा भने एमालेबाट प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दुर्गानारायण पाण्डे कांग्रेसमा प्रवेश गरेकाले कांग्रेसले उनैलाई उम्मेदवार बनाउने सम्भावना छ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिक्रिया