सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न सकेन : कांग्रेस

नेपालखोज २०७८ वैशाख २३ गते १४:४४

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको आराप लगाएको छ । विभाग प्रमुख गोपालमान श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि कांग्रेसले सरकारसँग माग पनि गरेको छ । कांग्रेस केन्द्रीय संगठन विभागले सरकारले रोकथाम र नियन्त्रणमा आवश्यक कदम चाल्नाको साटो विद्यमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरेको, सत्तामा केन्द्रित रहेको तथा मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न नसकेको आरोप लगाएको छ ।

साथै भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्ष स्थापना गरी सबैको कोरोनाको परीक्षण गर्न, संक्रमण देखिएकालाई आइसोलेशनमा राखी उचित व्यवस्थापन गर्न र सबै स्थानीय तहसँगको समन्वयमा कन्टयाक ट्रेसिङलाई निरन्तरता दिन माग गरेको छ ।

स्थानीय र प्रदेश तहसँगको समन्वयमा सबै स्थानीय तहमा आवश्यक आधारभूत संरचना, अस्पताल शय्या, सघन उपचार कक्ष शय्या, आइसोलेशन केन्द्र, क्वारेन्टिन र होर्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमन गर्न विभागको सुझाव छ ।

साथै केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल, मेडिकल कलेजलाई कोभिड–१९ र साना अस्पताललाई ननकोभिड–१९ अस्पतालका रुपमा विकसित गरी आवश्यक उपचार र जीवनरक्षक औषधिको प्रबन्ध गर्न माग गरिएको छ ।

प्रतिक्रिया