विदेश जाने र स्वदेश फर्कने ४० प्रतिशतले बढे

नेपालखोज २०७८ वैशाख २३ गते १५:०५

काठमाडौं । पछिल्लो ३ दिनमा हवाई मार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहर भित्रिएसंगै रोकथाम र नियन्त्रणका लागि सरकारले सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेस्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णयसंगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाए पछि नेपालस्थिति विदेशी दुतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताईएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसंगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताए ।

हवाईमार्गबाट बैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन् ।

२० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना ,१८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुँदै विदेश गएका छन् । अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् । यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एयरलाईन्सहरुले पनि उडान थप गरेका छन् ।

प्रतिक्रिया