निषेधाज्ञाको आठौं दिन : उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना

काठमाडौं । दोस्रो चरणको निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बिहिबार निषेधाज्ञा उलंघन गर्नेहरु माथि जिल्ला प्रशासन कार्यालयको रसिदमा प्रतिव्यक्ति १ सय रुपैया जरिवाना लिईएको हो ।
संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको रसिदका आधारमा प्रहरीले १ सय रुपैयाँ जरिवाना गरेको महानगरीय प्रहरी परिसर टेकूका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार, विहिबार काठमाडौं उपत्यकामा मात्रै निषेधाज्ञा उलंघन गर्ने १ सय बढीलाई जनही १ सय रुपैयाका दरले जरिवाना गरिएको छ ।
त्यसैगरी, ६ सय ४९ जना पुरुष र २ सय २३ जना महिलालाई होल्डिङमा राखिएको छ । निषेधाज्ञा उलंघन गर्ने २ सय ७० चार पाङग्रे सवारीसाधन र ६ सय ९८ दुई पाङग्रे सवारीसाधनलाई पनि होल्डिङमा राखिएको प्रवक्ता बस्नेतले जानकारी दिए । प्रहरीले १६ गतेदेखि आज २३ गते सम्म निषेधाज्ञा उलंघन गर्ने ७ हजार ६४ पुरुष र २ हजार ९ सय ३८ जना महिला तथा ४ हजार २ सय ३१ चार पाङग्रे सवारीसाधन लाई होल्डिङमा राखिएको जनाएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको गत मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गर्दै २९ गतेसम्मका लागि लम्ब्याएको थियो । यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि बैठकले निषेधाज्ञाको समय बढाएको थियो ।
निषेधाज्ञामा उलंघन गर्ने क्रम बढेपछि दोस्रो चरणको निषेधाज्ञा सुरु भएकै दिन बिहिबार त्यस्ता व्यक्तिबाट जरिवाना लिन सुरु गरिएको हो । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पुर्ण पालना गर्न सबैमा अपिल गर्दै गर्दा निषेधाज्ञा उल्लंघन हुने क्रम पनि नरोकिए पछि जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया