शुक्रबार, वैशाख १४, २०८१

नेपाल सुपर लिग : काठमाडौं रेजर्स प्लेअफमा प्रवेश

नेपालखोज २०७८ वैशाख २३ गते १९:४३

काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । केहिबेरअघि सकिएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे । विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो । जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ ।

विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ । यसअघि आजै भएको पहिलो खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो । ललितपुरका लागि विदेशी खेलाडी नुर्लान जाहिदले खेलको पाँचौ मिनेटमा हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ललितपुरले प्लेअफको सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया