आइतबार, वैशाख ३०, २०८१

नेपाल सुपर लिग : पोखरासँग पराजित चितवन बाहिरियो

नेपालखोज २०७८ वैशाख २४ गते २०:१६

काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो । पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे । १० खेलाडीमा समेटिएको चितवनका शिशिर लेखिले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर भने सिर्जना गरेको थियो । खेलको तेस्रो मिनेटमा पोखराका केचा यान्निकको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

खेलको छैटौं मिनेटमा चितवनका गोरान जेर्कोभिचले सेकेण्डबार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । १२ औं मिनेटमा पोखराका आयुश घलानको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको १५ औं मिनेटमा चितवनका सुनिल श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गरेको बल पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे । १८ औं मिनेटमा पोखराका नितिन थापाले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट गएको थियो ।

खेलको २७ औं मिनेटमा पोखराका आयुश घलानले गोलको सुनौलो मौका गुमाए । रबि पासवानको क्रसमा पेनाल्टी बक्स भित्र रहेका आयुशको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

जितसँगै पोखराले ६ खेलमा ८ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।चितवनले भने ५ खेलमा २ अंक जोडेको छ । चितवन पुछारमा रहेको छ । चितवनले अब अन्तिम एक खेल खेल्न बाँकी रहेको छ । उक्त खेल जितेपछि चितवनले शीर्ष चारमा स्थान बनाउने छैन् ।

प्रतिक्रिया