प्रयोगविहीन सिलिन्डर अस्पतालमा पुर्‍याउन थालियो, दुरुपयोग भएको पाइए प्रहरीलाई खबर गर्न आग्रह

नेपालखोज २०७८ वैशाख २५ गते ८:१७

काठमाडौं । अक्सिजन सिलिन्डरको अभावका कारण बिरामीको उपचार प्रभावित भएपछि प्रयोगविहीन भएका सिलिन्डर अस्पतालमा पुर्याउन थालिएको छ ।

काठमाडौं उपत्यकासहित देशभर नै दुरुपयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलन गर्ने काम धमाधम भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।

पछिल्लो पाँच दिनमा पाँच हजारभन्दा धेरै अक्सिजन सिलिन्डर सङ्कलन गरी विभिन्न अस्पतालमा पठाएको उनले बताए । दुरुपयोग भएका अक्सिजन सिलिन्डरको खोजीका लागि प्रहरीले अभियान नै चलाएको छ। अक्सिजनको सिलिन्डर अभावमा उपचार नै प्रभावित हुन थालेपछि दुरुपयोग भएका सिलिन्डरको सङ्कलनका प्रहरीले सहजीकरण गर्दै आएको छ ।

स्वास्थ्यको प्रयोजनबाहेकका क्षेत्रमा प्रयोग भएका अक्सिजनको सिलिन्डर सङ्कलनमा थप कडाइ गरिने पनि प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनले स्टक एवं डम्प भइ बसेका सिलिन्डरको खोजीलाई बढाएको र कहीँकतै दुरुपयोग भइरहेको पाइए प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन पनि आग्रह गरे ।

औद्योगिक क्षेत्रसँगै कवाडी लगायतमा क्षेत्रमा सिलिन्डर दुरुपयोग भइरहेको पाइएको छ । अहिले कोरोनाको महामारीले अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । यस्तो अवस्थामा सिलिन्डरको दुरुपयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ । केही समयअघि मात्रै सिलिन्डरको दुरुपयोग रोक्न प्रहरीलाई अक्सिजन उद्योगको निगरानीको जिम्मा दिइएको थियो ।

प्रतिक्रिया