बाँके र रुपन्देहीमा थप ७ कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २५ गते १०:३६

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

पचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना हुनुभएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना हुनुभएकी बुटवल –११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले बताए । उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया