तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि सहयोग माग
ताप्लेजुङ । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो ।
ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन-९५ मास्क एक हजार थान, पीपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ ।
दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए ।
फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत जानकार छेतेन लामामार्फत मागपत्र पठाइएको प्रमुख मादेनले बताए । डिङ्जे काउन्टी तिब्बत सरकारले ताप्लेजुङमा विभिन्न विपत्का समयमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया