शुक्रबार, पुष ४, २०८२

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

नेपालखोज २०७८ वैशाख २५ गते १३:१८


काठमाडौं । सरकारले कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मुल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि हस आएको हो ।

तरकारी कम आएको भएपनि मुल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्रि मुल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मुल्यमा पनि गिरावट आएको हो । तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ ।

सर्वसाधरणलाई हिडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रिका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५०प्रतिशतले गिरावट आएको बताउनुभयो ।

उनले सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको बताए ।

अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौका लगायत सिजन तरकारीहरु नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

समितिले स्थानीय तहसंगको समन्वयनमा जुन सुकै समयमा कालिमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद विक्रिका लागि भने राती १ बजे देखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालिमाटी बजारमा राती ३ बजे देखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए ।

किसान, उत्पादक तथा व्यवसायीले खरिद बिक्रिका लागि रातीको समय लम्ब्याएको भएपनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ ।

यसैबीच कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियान स्वरुप सूचना प्रकाशन, माईकिङ गरेर भीडभाड नगर्न र दुरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ ।

समितिले बजार भित्र ठाउँमा स्वास्थ्य सर्तकता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।

प्रतिक्रिया