दिवंगत नेतृ शैलजाको सम्झना

काठमाडौं । शैलजा आचार्यलाई धेरैले धेरै किसिमले चिन्छन् तर पनि उनको एउटा परिचय छ (२०१७ मा राजा महेन्द्रले प्रजातन्त्र हरण गरेपछि काठमाडौंको टुँडिखेलमा उभिएर उक्त शाही कदमविरुद्ध कालो झन्डा देखाउने सोह्र वर्षकी किशोरी ।
यिनै साहसी नेतृ, नेपालकी पहिलो महिला उपप्रधानमन्त्री, आदर्श, निष्ठा, त्याग र संघर्षकी प्रतिमूर्ति शैलजा आचार्यको ७५औं जन्मजयन्ती हो आज । आचार्यको जन्म २००१, वैशाख २५ मा मोरङको विराटनगरमा भएको थियो । सामाजिक सन्जालमा कतिपयले उनलाई विभिन्न किसिमले सम्झिरहेका पनि छन् ।
जीवनको उत्तरार्धतिर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई झैं नेपाली काग्रेस पार्टीबाट लगभग अलग-थलग भएकी शैलजाले उतिबेलाको नेपालमा घरबाहिर निस्किएर प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेकी थिइन् जुन आफैंमा उदाहरणीय र ऐतिहासिक छ । आचार्य आफ्नो विचार र सिद्धान्तबाट विचलित नहुने दृढ प्रकृतिकी थिइन् । प्रतिकूल परिस्थितिमा पनि धैर्य र साहसका साथ एक्लै उभिन सक्ने शैलजालाई आम नेपाली विशेषगरी नेपाली महिलाका लागि प्रेरणाको स्रोत नै मान्नुपर्छ ।
लामो समय अल्जाइमर र निमोनियाँबाट पीडित नेपाली प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला आचार्यको काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ६५ वर्षको उमेरमा २०६६ जेठ २९ गते निधन भएको थियो ।

प्रतिक्रिया