शुक्रबार, चैत १६, २०८०

सम्झनामा सादगी नेता नवीन्द्रराज

सुशान्त आचार्य २०७८ वैशाख २६ गते १३:५९

नवीन्द्रराज जोशी सदैव निष्ठा ,इमानदारिता र आदर्शको मूल्यमान्यतामा आधारित राजनीति गर्ने एक निष्ठावान् नेता हुनुहुन्थ्यो । सदैव जनताप्रति उत्तरदायी रहनुपर्छ भनेर सदैव जनताको भलाइका निम्ति समर्पित हुने जोशीमा एक नेता मात्र नभएर राजनेतामा हुनुपर्ने गुणहरु थिए ।

राजनीतिको उतारचढाव सबै बेहोरेका नवीन्द्रराज जोशी सदैव गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको आदर्शप्रति समर्पित रहनुभयो । उहाँ आफ्नो संगतमा रहेकाहरुलाई सदैव गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले देखाएको मार्गमा हिड्नपर्छ भनेर अभिप्रेरित गरिरहनुहुन्थ्यो । वर्तमान राजनीतिकर्मीहरुको भिडमा आदर्शका गफ दिएर नथाक्नेहरुले कर्मले नै आफू बाँच्नुपर्छ र कर्म नै प्रधान हो भन्ने कुरा दिवंगत नवीन्द्रराज जोशीबाट अनुसरण गर्नुपर्छ ।

जीवनको ५८ वर्षको कालखण्डमा १४ वर्षकै उमेरबाट राजनीति प्रारम्भ गरी सर्वमान्य नेता गणेशमान सिंहको राजनीतिक प्रशिक्षणमा हुर्किएर १६ वर्षकै कलिलो उमेर नेविसंघको केन्द्रीय समितिको सदस्य (२०३६-२०३९ र २०३९-४०), सह-महामन्त्री (२०४१-२०४४), महामन्त्री (२०४४-२०४८) भइ नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण कालखण्डमा (विद्यार्थी आन्दोलन, जनमत संग्रह ,सत्याग्रह र जनआन्दोलन) नेतृत्वदायी भूमिकामा रहेर आफूलाई अब्बल प्रमाणित गरिनै रहनुभयो ।

बहुदल स्थापनापश्चात् हालको समाज कल्याण परिषद्को कोषाध्यक्षका रुपमा होस् वा काठमाडौं महानगरको संस्थापक उपप्रमुखका रुपमा उहाँले आफूलाई राजकीय पदमा समेत अब्बल प्रमाणित गरी एउटा उदाहरण बन्नुभयो । सदैव दीर्घकालीन सोच राख्ने जोशीले नेपालका नगरपालिकाहरुबीच समन्वय गर्न र समान नगर विकासका कार्यक्रमहरु तर्जुमा गर्नका निम्ति नेपाल नगरपालिका संघको परिकल्पना मात्र गर्नुभएन आफैँ संस्थापक महासचिव भएर स्थापनाकालको कठिन समयमा संस्थाको औचित्यता पुष्टिका निम्ति समर्पित रहनुभयो ।

आफ्नो आदर्श, प्रियतम् सर्वमान्य नेता गणेशमान सिंहको निर्देशनमा उहाँ जीवित रहेकै अवस्थामा उहाँको आदर्शतालाई उहाँको विचारलाई चिरन्तन राख्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको स्थापना गरी वीर गणेशमान चलचित्र निर्माण, संविधानसभा किन ? भनेर देशभर प्रशिक्षण होस् वा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालनदेखि नीतिगत काममा समर्पित रहनुभयो ।

युवा स्वरोजगारको कार्यकारी उपाध्यक्षका रुपमा युवालाई स्वरोजगार बनाउन उद्यमशीलतासँग जोड्न राज्यतहबाट प्रथमपटक पहलकदमी मात्र लिनुभएन थुप्रै नीतिगत कामहरु पूरा गर्नुभयो ।

प्रथम र दोस्रो संविधानसभामा काठमाडौं ८ बाट निर्वाचित भइ नेपाली काङ्ग्रेस संसदीय दलको प्रवक्ताका रुपमा होस् वा सीमा अध्ययन समितिको संयोजकका रुपमा होस् वा संविधान लेखन कार्यमा मध्यमार्गीभएर उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । काठमाडौंको वसन्तपुरमा ब्राह्मण परिवारमा जन्मिएर पनि नेवारी संस्कृतिलाई आफ्नो संस्कृति मान्दै जोशीले काठमाडौंका हरेक जात्रा-पर्व अनि संस्कृतिको उन्नयनमा समय व्यतित गर्नुभयो । इन्द्रजात्राको बजेट कटौतीपछिको आन्दोलन होस् वा गुठी विधेयकविरुद्धको आन्दोलन होस् उहाँले नेतृत्व तहमा रहेर नेवारी संस्कार र संस्कृतिको उन्नयन एवं जगेर्नामा योगदान दिनुभयो ।

९ महिने सरकारको उद्योगमन्त्रीका रुपमा बन्द रहेको नेपाल औ‍षधि लिमिटेड पुन: सञ्चालनमा ल्याउनमा जोशीको महत्त्वपूर्ण भुमिका थियो भने २५-३० करोड घाटामा रहेका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगलाई व्यवस्थित बनाइ करोडौं नाफा पुर्याउने काममा उहाँले आफ्नो दक्षता प्रदर्शन गर्नुभयो ।अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरि १४ खर्बभन्दा बढी लगानी भित्र्याउने वातावरण निर्माणदेखि विशेष आर्थिक र औद्योगिक क्षेत्र निर्माणमा समर्पित जोशी आफ्नो कर्म इमानदारितापूर्वक सम्पन्न गर्ने व्यक्ति हुनुहुन्थ्यो ।

२०७४ सालको संसदीय निर्वाचनमा पराजित भए पनि उहाँ आफ्नो जिम्मेवारीबाट कहिलै विमुख हुनुभएन । थोरै मतले चुनाव हारे पनि जनताले उहाँलाई सदैव आफ्नो प्रतिनिधिका रुपमा आफ्नो सुखदु:खमा सदैव सम्झिरहे । कोभिड-१९ को संक्रमण सुरु भएपछि जनताको घरदैलोमा पुगी उनीहरुको सुखदु:ख बाँड्ने नवीन्द्रराजको देहावसान फागुन १३ गते राति अकस्मात् मस्तिष्काघात भइ एक महिनाको उपचारपछि चैत १३ गते भएको हो ।

नवीन्द्रराजको निधनले नेपाली कांग्रेसभित्र समन्वयकारी, सबैलाई मिलाएरसँगै हिँडाउन सक्ने नेताको अभाव मात्र भएको छैन मुलुकले नै एउटा इमानदार र होनहार नेतृत्व गुमाएको छ । जनसेवा नै मानव धर्म हो भन्ने नवीन्द्रराजले देखाएको बाटोमा हिँड्न नयाँ पुस्ता लाई सदैव प्रेरणा मिलिरहोस्, उहाँको ४५औं दिनको पुण्यतिथिमा यही कामनाका साथ हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया