लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई सिफारिस गरेको छ । रेग्मी आयोगकै सचिवबाट सेवा निवृत्त भएका थिए ।
आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गरेको स्रोतको दाबी छ । परिषद्ले अन्य कैयौँ नियुक्ति पनि गरेको छ ।
आजको बैठकमा सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नभए पनि संवैधानिक परिषद्का अध्यक्षसमेत रहने प्रधानमन्त्री कपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बैठकले नियुक्ति सिफारिस गरेको हो ।
प्रधानमन्त्री ओलीले संसद् छलेर स्वेच्छाचारी रूपमा अध्यादेश ल्याएको र संवैधानिक परिषद्को बैठक बोलाएको भन्दै सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् । पछिल्लो पटक बैशाख २१ गते जारी भएको अध्यादेशमा अध्यक्ष र तीन सदस्य अर्थात् चार जना उपस्थित भएमा गणपूरक सङ्ख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था नयाँ अध्यादेशमा छ ।

प्रतिक्रिया