स्कुल अफ डेमोक्रेसीको पहलमा चिकित्सकसँग नि:शुल्क परामर्श

नेपालखोज २०७८ वैशाख २६ गते १७:१०

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को दोस्रो लहरले नेपाल पनि आक्रान्त भएको अवस्थामा स्कुल अफ डेमोक्रेसीले डाक्टरहरुको समूहसँग समन्वय गरेर टेलिफोनमार्फत चौबीसै घण्टा नि:शुल्क परामर्श दिने व्यवस्था गरेको छ ।

यसैगरी दीर्घकालीन रोगबाट संक्रमित वा अन्य कुनै रोगको समस्या भए सोअनुसारको विशेषज्ञको परामर्श प्रवाह गरेर रोगले पीडामा परेका जनतालाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श अभियान सञ्‍चालन गरिएको कुरा स्कुल अफ डेमोक्रेसीले जनाएको छ।

साथै स्कुल अफ डेमोक्रेसीले चौबीसै घण्टा उपलब्ध हुने हटलाइन नम्बर ९८६४४८३०२६ को पनि व्यवस्था गरेको छ। ‘हटलाइनको समेत व्यवस्था गरेर बिरामीले घरघरमा फोनमार्फत चिकित्सक परामर्श लिनसक्ने हाम्रो प्रयासले कोरोनाविरुद्धको लडाइँमा सहजता मिल्ने अपेक्षा गरेको छ,’ स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले बताए ।

महासंकटको यो अवस्थामा राजनीतिलाई समाजसेवासँग जोड्ने उद्देश्य रहेको उनको भनाइ छ ।

आगामी दिनमा थप चिकित्सकहरु जोड्दै जाने र विदेशमा रहेका शाखामार्फत पनि थप विशेषज्ञ चिकित्सक यो अभियानमा जोड्ने योजना रहेको पनि अध्यक्ष महरले बताए ।

आमसर्वसधारणलाई कोरोनाविरुद्ध अपनाउनुपर्ने उचित सावधानी, विश्वभर कोरोनाले पारेको असर र उपचारलगायत आवश्यक परामर्शको प्रबन्ध गरेको स्वास्थ्य संयोजक डा. नरेश भट्टले बताए ।

प्रतिक्रिया