‘ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना छैन’

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने सम्भावना नरहेको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीभित्र ह्विप लाग्ने र सांसदहरुले पार्टीको ह्विप मान्नु पर्ने संकेत गरे ।
उनले अन्य पार्टीलाई आफुहरुको ह्विप नलाग्ने भन्दै घुमाउरो शैलीमा कुनै पनि सांसदहरुले ह्वीप उलंघन गर्न नमिल्ने संकेत गरे । उनले भने, ‘२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १२१ सिट जितेको हो । त्यो १२१ सिट संख्या यस पटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरुसँग हामीले सहयोग माग्ने मात्रै हो । अरु दललाई हाम्रो ह्विप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ ।’
उनले एमालेकै नेपाल खनाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव पेस गर्नुअगावै राजीनामा दिने कुरामा आफूलाई विश्वास नभएको तर्क गरे । उनले भने, ‘मलाई पटक्कै विश्वास छैन । किनभने निर्वाचनमा ५ वर्षका लागि मत मागेर आउनुभयो । विकास र सम्मृद्धिको कुरा गर्नुभयो । यसबेला आएर जनताका बीचमा राजीनामा दिएर के भन्दै जाने हो । त्यसकारणले मलाई राजीनामा आउँछ जस्तो लागेको छैन ।’

प्रतिक्रिया