ओली र नेपाल-खनालबीचको छलफल निष्कर्षविहीन (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख २६ गते १९:०७

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गर्न पठाएका थिए ।

पौडेल, नेम्वाङ्ग र नेपालबीच सिंहदरबारमा छलफल भएपनि राजनीतिक विवादको समाधान निस्कन सकेन् । बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन ।

बैठकपछि संञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उपनेता नेम्वाङ्गले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्न भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पुर्याउनका लागि ठोस आधारहरुका बारेमा फेरी छलफल गर्ने सहमति भएको बताए । आफुहरुलाई प्रधानमन्त्रीले नेता नेपालसंग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुराउने उनले बताए ।

‘प्रधानमन्त्री र माधव कुमार नेपाल बीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट तय भएको हो । प्रधानमन्त्री जीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसंग कुरा गर्न पठाउनुभएको हो । हामीले गम्भीरतापुर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्यौ । धेरै खुलस्त कुरा गरियो,’ ‘उनले भने, ‘पार्टी अध्यक्ष ज्यूको चिन्ता र सरोकारको कुराहरु उहाँ समक्ष राख्यौ । सम्पुर्ण पार्टी पक्तिको चिन्ता र सरोकारका कुराहरु राख्यौ । उहाँले नि आफ्नो कुराहरु खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरु पार्टी अध्यक्ष समक्ष पुराउँछौ ।’

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आईतबार पार्टीभित्रकै असन्तुष्ट समुह नेपाल–खनाल पक्षसंग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई पठाएका थिए । त्यस्तै अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरुसंग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरेका छन् ।

प्रतिक्रिया