एमाले नेता भीम रावल भन्छन्- ओलीलाई विश्वासको मत दिन्नौं (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
फागुन २८ गतेको निर्णय खारेज गर्दै २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि आज (सोमबार) बिहान ९ बजे सम्मको समय दिएको नेपाल खनाल समूहले माग पूरा नभएपछि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णयमा पुगेको हो । आज बिहान सिंहदरबारमा बसेको नेपाल खनाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमै अनुपस्थित हुने निर्णय गरेको हो । यसअघि नेपाल-खनाल समूहका सांसदहरुले राजीनामा दिने चर्चा चले पनि तत्कालका लागि विश्वासको मत नदिएर अध्यक्ष ओलीलाई असहयोग गर्ने र पार्टी पनि बचाइराख्ने नीति नेपाल-खनाल समूहले लिएको छ । एमाले नेता भीम रावलले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र त्यसका लागि प्रतिनिधिसभाको सोमबारको बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने र राजनैतिक नैतिकतालाई ध्वस्त गर्ने र देशको राजनीतिक स्थायित्व, नेपाली जनताको स्वाभिमान, स्वाधीनताको दृष्टिकोणबाट देश र राज्यलाई कमजोर तुल्याउने हुने हुँदा हामीले आजको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धााराहरुको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर उहाँले बोलाउन लगाउनुभएको थियो । यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं,’ उनले भने, ‘उहाँलाई विश्वासको मत दिनुहुन्न । उहाँले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ ।’
राजीनामा दिने यसअघिको निर्णयबाट पछि फर्किएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी पछाडि फर्केका छैनौं उहाँले विश्वासको मत माग्नुभएको हुनाले उहाँलाई विश्वासको मत नदिँदा नै यो अहिलेलाई पर्याप्त हुने निष्कर्षका साथ हामीले यो निर्णय गरेका छौं ।’
नेता रावलले प्रधानमन्त्री ओलीले देशलाई राजनीतिक स्थायित्व र पार्टीलाई राजनीतिक स्थिरतातर्फ लैजानेभन्दा पनि दललाई विभाजित गरी देश नै लथालिंग-भताभुंग पार्नतर्फ लागेको आरोप लगाए ।
‘हाम्रो पार्टीका नेता माधवकुमार नेपालजीले हिजो नै यदि ओली जीलाई पार्टीगत दृष्टिकोणबाट उहाँलाई विश्वासको मत दिनुपर्ने कुरा हो भने उहाँले नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनको निर्णय, त्यसबाट निर्वाचित केद्रीय कमिटी र त्यसको पूर्ण संरचनालाई स्वीकार गर्नुको साथै फागुन २८ गतेको निर्णय खारेज गर्नुपर्छ । पार्टी विधिसम्मत ढंगले चलाउने कुरामा उहाँ तयार हुनुपर्छ भनेर व्यक्तिगत रुपमा हामी सबैको तर्फबाट पत्र पठाउनुभएको थियो । तर उल्टै केपी शर्मा ओलीजीले हिजो दंभ, अंहकार र गैरजिम्मेवार रुपमा वक्तव्य जारी गर्नुभयो,’ एमाले नेता रावलले भने, ‘प्रधानमन्त्री ओली देशलाई राजनीतिक स्थायित्व र पार्टीलाई राजनीतिक स्थिरतातर्फ लैजानेभन्दा पार्टीहरुलाई विभाजित गर्ने,देशमा लथालिंग भताभुंग गर्नेतर्फ उद्यत भएको देखिएको हुनाले उहाँलाई विश्वासको मत नदिने निर्णयमा पुगेका हौं ।’
नेता रावले नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई प्रधानमन्त्री ओली स्वयंले भंग गरिसकेकाले वैध नरहेका अध्यक्षले आफ्ना सांसदलाई निर्देशन दिने अधिकार नराख्ने र अवैध अध्यक्षले दिएको निर्देशन आफूहरुलाई पनि मान्य नहुने टिप्पणी गरे ।
उनले भने, ‘नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर आफैंलाई कथित राष्ट्रिय महाधिवेशन आयोजक समितिको अध्यक्ष भनेर अवैध घोषित गर्नुभएको हुनाले वैध अध्यक्ष नरहेको व्यक्तिले हामीलाई निर्देशन जारी गर्ने अधिकार राख्नुहुन्न । हामीलाई उहाँको कुनै पनि निर्देशन मान्य हुँदैन ।’

प्रतिक्रिया