शुक्रबार, वैशाख ७, २०८१

‘अक्सिजनको माग थेग्‍न सकिँदैन, तत्काल वैकल्पिक व्यवस्था नगरे ठूलो संकट निम्तिन्छ’ (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख २८ गते १३:२६

काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् ।

कोभिड-१९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् । अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले चौबीसै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए । उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणाले बढ्ने चेतावनीसमेत दिए ।

उनले सरकारले अक्सिजन आपूर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्नेबारे छिटो निष्कर्षमा पुग्नुपर्ने पनि सुझाए । अहिले काठमाडौं उपत्यकामा मात्रै आठवटा प्लान्ट सञ्चालनमा रहेको र दुईवटा प्लान्टहरु मर्मतको क्रममा रहेको जानकारी दिँदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झन्डै नौ हजार ग्यास सिलिन्डर उत्पादन भइरहेको पनि उनले जानकारी दिए ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवनरक्षाका लागि सहयोग गर्न आह्वान पनि गरे ।

‘बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव छ । उत्पादक कम्पनीले उत्पादन गरेर भ्याएको अवस्था छैन । चौबीसै घण्टा प्लान्ट चले पनि वितरण प्रणालीमा असाध्यै ठूलो चुनौती दिएको छ । कोभिड-१९ संक्रमणको महामारी नियन्त्रणका लागि अक्सिजनको सहज आपूर्तिका लागि सरकारले हदैसम्मका प्रयास र उपायहरु अपनाउन निजी उद्योगीहरु र सरकारको तर्फबाट सहजीकरण र व्यवस्थापन गर्न जरुरी देखिन्छ,’ उनले भने, ‘सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा छन् र पूर्ण क्षमतामा सञ्चालनमा आउँदा अहिले प्रतिदिन ९ हजार सिलिन्डर उत्पादन गरिरहेको अवस्था छ । यो उत्पादनले बजारको माग, अस्पतालको माग थेग्न नसक्ने अवस्थामा छ । उपत्यकामा मात्रै आठवटा प्लान्ट चालु अवस्थामा छन् । दुईवटा प्लान्ट मर्मतका क्रममा छन् ।’

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफैं अक्सिजन उत्पादन कम्पनीमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विशेष गरेर सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वसाधारण उद्योग घेराउमा उत्रिएका छन् । मन्त्रालयले अस्पतालबाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराइरहेका बिरामीको आवश्यकतालाई बेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले सुरक्षाकर्मी तैनाथ गरिएको हो ।

सुदूरपश्चिमको एकमात्र अक्सिजन प्लान्ट बिग्रियो, उत्पादन ठप्प

प्रतिक्रिया