शुक्रबार, चैत १६, २०८०

२७ अंकले नेप्से बढ्दा ५ अर्ब ८१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ वैशाख २८ गते १५:४८

काठमाडौं । नेप्सेको उच्च अंकको वृद्धिले साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २७ दशमलव ४१ अंकले बढेको नेप्से आज पुन: २७ दशमलव ४७ अंकले बढेर २,६७३ दशमलव ३१ अंकमा पुगेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ अंकमा पुगेको छ ।

२२० वटा कम्पनीको ६२ हजार ६ सय ५९ पटकको कारोबारमा एक करोड आठ लाख १९ हजार पाँच सय ३५ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल कारोबार रकम पाँच अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३८ अंकले बढेर १७ सय ८५ दशमलव १९ अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७६ दशमलव ४८ अंकले बढेर १३ हजार ६ सय २२ दशमलव ३९ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक पनि आज दुई सय ६७ दशमलव १८ अंकले बढेर १७ हजार तीन सय ६८ दशमलव ९५ अंकमा पुग्दा विकास बैंक, जलविद्युत्, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि बढेका छन् ।

आज बोटर्लस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६५ रुपैयाँमा कारोबार हुँदा विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर चार हजार आठ सय ९७ रुपैयाँमा कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको आज एकैदिन प्रतिकित्ता १५ सय ६८ रुपैयाँ अन्तिम मूल्यमा ७६ करोड ६५ लाख ३४ हजार चार सय १८ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया