शुक्रबार, चैत १६, २०८०

कोरोनाबाट जोगिन छाड्नैपर्ने १० आनीबानी !

डा. हेमराज कोइराला २०७८ वैशाख २९ गते १०:४३

आज अखिल विश्व कोभिड-१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवाई प्रान्तको बुहान सहरमा सन् २०१९ को उतरार्द्धमा कोरोना भाइरसको नवीन प्रजातिका कारणले यो महामारी फैलिएको हो ।

आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तीव्र गतिमा फैलन सक्ने क्षमताको यस रोगले हालसम्म ३३ लाख १७ हजार ३५८ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग लागेर ज्यान गुमाउनेहरूमध्ये अधिकांशको स्वास्थ्य स्थिति ठीक नरहेको वा कुनै न कुनै दीर्घरोगले ग्रसित रहेको, प्रतिरक्षा प्रणाली अत्यन्त नाजुक रहेको र जीवनशैली अत्यन्त गडबड रहेको पाइएको छ । तर सबल स्वास्थ्य स्थिति रहेकाहरूलाई भने यो रोगले त्यति विघ्न ग्रस्त पारेको र ज्यान लिइहालेको छैन । यसर्थ आजको परिप्रेक्षमा कोभिड-१९को संक्रमणबाट जोगिन एवं यसको रोकथाम एवं बचाऊका लागि सबैभन्दा भरपर्दो उपाय भनेको आफ्नो जीवनी शक्ति वा प्रतिरक्षा प्रणालीलाई सबल पार्नु हो ।

हामीमध्ये धेरैलाई प्रतिरक्षा प्रणाली कसरी सबल वा दुर्बल हुन्छ भनेर थाह छैन । प्रतिरक्षा प्रणालीलाई सबल पार्ने कि दुर्बल पार्ने भन्ने विषय हाम्रै हातमा छ । प्रतिरक्षा प्रणालीलाई सबल बनाउन सन्तुलित भोजन, उचित व्यायाम, समुचित विश्राम, सकरात्मक विचार र सदाचारयुक्त व्यवहारको आवश्यकता पर्छ भने यसको ठीकविपरीत हाम्रो आनिबानी र जीवनशैली गडबड छ, खाना प्राकृतिक छैन । व्यायाम गर्ने बानी छैन, चेत र चिन्तन घटिया छ भने हाम्रो प्रतिरक्षा प्रणाली पनि कमजोर हुन सक्छ ।

प्रतिरक्षा प्रणालीलाई आघात पुर्‍याउने आनीबानी :
१. राति नसुत्ने :
प्रतिरक्षा प्रणालीलाई सबल बनाउन चाहनेहरूले निद्राको माया कहिल्यै पनि मार्नु हुँदैन । त्यसमा पनि राती ९ बजेदेखि बिहान ५ बजेको बीचको निद्रालाई त कदापि कचमचिन दिनु हुँदैन । अनुसन्धानहरूका अनुसार राति राम्रोसँग नसुत्नेहरूको रगतमा प्रतिरक्षा कोषहरूको संख्या कम भएको र रक्षात्मक साइटोकाइन्सको उत्सर्जन पनि राम्रोसँग नभएको पाइएको छ ।

२. चिनीको सेवन : हामीले मीठो मानी-मानी खाने गरेको चिनी वा चिनी हालिएका खानेकुराहरू स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन् भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ तर वास्तविकता बुझ्दा चिनी हाम्रा लागि मीठो विष हो । चिनीले प्रतिरक्षा प्रणालीका कोषहरूको किटाणु मार्ने क्षमतालाई दुर्बल गराइदिन्छ । यसरी दुर्बल हुनुमा यी कोषहरूलाई यथोचित कार्य गर्न आवश्यक भिटामिन ‘सी’ लगायतका रसायनहरूलाई चिनीले कोषभित्र जान दिँदैन फलतः यी कोषहरूको कार्यक्षमता घट्छ । चिनी यदि चिया, कफी, कोका, सोडाजस्ता पेयको साथमा लिइएको हो भने यी रसायनहरूले प्रतिरक्षा प्रणालीमा अझ धेरै आघात पुर्‍याउँछ । यसो हुनुको पछाडि चिया, कफी, कोका, सोडामा विद्यमान तत्त्वहरूले स्नायु तन्त्रलाई लठ्याएर धेरै मात्रामा कर्टिसोल उत्सर्जन गर्छ जसले प्रतिरक्षा प्रणालीलाई कमजोर पार्छ ।

३. मदिरा सेवन : प्रतिरक्षा प्रणालीलाई दुर्बल बनाउने महत्त्वपूर्ण द्रव्य मदिरा (रक्सी) पनि हो । रक्सीले शरीरमा प्रतिरक्षक कोषहरूको उत्पादनलाई असर पुर्‍याउनुका साथै रगत, रक्तनली, नशा, नाडी, मुटु, कलेजो आन्द्रा आदिलाई पनि आघात पुर्‍याउछ । यसका अतिरिक्त रक्सीले हाम्रो शरीरमा जलीय माध्यममा हुने अनेकौं जैव रासायनिक प्रतिक्रियाहरूलाई रोकीदिने र चुस्त प्रतिरक्षा क्रियाका लागि चाहिने रसायनको शंष्लेषणलाई समेत प्रभाव पार्छ ।

४. धूमपान : धूमपानका धेरै बेफाइदाबारे धेरथोर सबैलाई थाहा छ तर यसले प्रतिरक्षा प्रणालीलाई पार्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ । धूमपान गर्दा धुँवामा विद्यमान अनेकौं हानिकारक तत्त्वहरूले प्रतिरक्षक कोषहरूको कार्यकुशलता कम गरिदिने, कोषहरूमा विद्यमान एन्टी अक्सिडेन्टको गतिविधि निरस्त गरिदिने, धेरैभन्दा धेरै फ्री-रेडिकलहरूको उत्पादन गराइदिने र ती कोषहरूको डीएनएसमेत ड्यामेज गरिदिने गर्छ । कमजोर प्रतिरक्षा भएकै कारण कोभिड-१९ धूमपानकर्ताहरूमा भयावह बन्ने गरेको छ ।

५ तनाव : मानसिक तनाव पनि प्रतिरक्षा प्रणालीको दुस्मन हो । तनावको स्थितिमा प्रतिरक्षा प्रणाली कमजोर हुनुमा तनाव हारमोन कर्टिसोल र एड्रिनालिन जिम्मेवार छ । शरीरमा कर्टिसोल र एड्रिनालिनको मात्रा ज्यादा भएको खण्डमा यी हार्मोनले प्रतिरक्षाका कोषहरूलाई निष्क्रिय पार्ने एवं यी कोषहरूको किटाणु पहिचान क्षमतालाई समेत निस्तेज पारिदिन्छ ।

६. घटिया खाना : सबल प्रतिरक्षा प्रणालीका लागि सन्तुलित, प्रकृतिक एवं पौष्टिक खानाको ठूलो महत्त्व छ । खानाको गुणस्तर खस्किँदा प्रतिरक्षा प्रणालीको कार्यक्षमता पनि खस्किन्छ । त्यसमा पनि जंकफुड, रिफाइन्ड फुड र मिलावटी खानेकुराहरूको सेवनले प्रतिरक्षा प्रणालीलाई बेस्सरी आघात पुर्‍याउँछ । यी खानेकुराहरूमा प्रचुर मात्रामा स्याचुरेटेड फ्याट, प्रशोधित चिनी, चाहिनेभन्दा उच्च मात्रामा नुन, स्वादबर्द्धक रसायन, अजिनोमोटोजस्ता प्रिजरभेटिभ हालिएको हुँदा यी रसायनहरूले प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँछ । फलतः घाउ-खटिरा ढिलो निको नहुने, इन्फ्लामेसन भइरहने, क्यानसरको जोखिम बढ्ने, मुटु तथा रक्तनलीका रोगहरू लाग्ने, एलार्जीले सताइरहने र प्रतिरक्षा प्रणाली आत्मघातिसमेत हुनेगर्छ ।

७. पर्याप्त पानी नपिउने : शरीरमा हुने अनेकौं जैव-रासायनिक क्रियाहरूलाई जलीय माध्यम चाहिन्छ र यो माध्यम दिइरहनका लागि पर्याप्त मात्रामा पानीको सेवन गरिरहनु पर्ने हुन्छ । शरीरमा पानी कम हुँदा फ्री-रेडकलहरूको अत्यधिक उत्पादन भई कोषहरूले अक्सिडेटिभ स्ट्रेस झेल्नुपर्छ । विभिन्न अनुसन्धानहरूले दर्शाएअनुरूप प्रतिरक्षा प्रणालीका कोषहरूलाई यथोचित कार्य गर्न ऊर्जाभन्दा पनि पानीको पहिलो आवश्यकता रहन्छ ।

८. व्यायाम नगर्ने : निष्क्रिय जीवनले प्रतिरक्षा प्रणालीलाई समेत निष्क्रिय पारिदिन्छ । व्यायाम र कसरतको माध्यमले जीवनलाई सक्रिय राख्दा तनाव कम हुने एवं सेता रक्तकोषहरूको उत्पादनलाई समेत बढाउँछ । यसका अलावा व्यायाम एवं कसरतले विजातीय द्रव्यहरूको निष्कासनलाई समेत बढाउने हुदा शरीरमा हानिकारक ब्याक्टेरिया एवं भाइरसको वृद्धि एवं प्रवर्द्धन हुन दिँदैन । यसर्थ व्यायाम हाम्रो प्रतिरक्षा प्रणालीका लागि अत्यन्त राम्रो आदत हो तर व्यायाम गर्ने नाममा कठिन प्रकारको व्यायाम गर्दा भने प्रतिरक्षा प्रणालीलाई असर पार्दछ ।

९. औषधिको सेवन : रासायनिक औषधिहरूको दीर्घकालीन प्रयोगले पनि प्रतिरक्षा प्रणालीलाई कमजोर बनाइरहेको हुन्छ । त्यसमा पनि केही औषधिहरू जस्तै अत्मघाति प्रतिरक्षा प्रणालीजन्य रोगहरूका औषधि, किमोथेरापिका औषधि, स्टेरोइडहरू आदिले त प्रतिरक्षा प्रणालीलाई प्रत्यक्ष दमन गर्ने हुँदा औषधिको प्रयोगमा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

१०. दीर्घ रोग : स्वास्थ्यमा दीर्घकालीन समस्या भएका जस्तै उच्चरक्तचाप, मधुमेह, दम, खोकी, क्यान्सर, बाथरोग, एचआईभी, मिर्गौला रोग, अत्मघाति प्रतिरक्षा प्रणालीका समस्या झेलिरहेकाहरूको प्रतिरक्षा प्रणाली रोग लागेकै कारणले कमजोर भएको हुन्छ ।

डा. कोइराला भरतपुर १, बागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया