पार्टी र राष्ट्रकाे सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय

नेपालखोज २०७८ वैशाख ३० गते १३:४९

काठमाडाैं । नेकपा एमालेकाे स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेकाे छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान बसेकाे बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय भएकाे पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

यस्तै बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय बैठकले गरेको प्रवक्ता एवम् नेता ज्ञवालीले जानकारी दिए । 

उनले भने पार्टी एकताको रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै निलम्बन गरिएका नेताहरू माधवकुमार नेपाल भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ र आफ्नै सरकार ढालेर विपक्षीहरूको सरकार बन्ने बनाउने र त्यसका निम्ति मुख्य कारक बन्ने बाटोमा नहिँड्न साथीहरूलाई आह्वान पनि गरेको छ ।

बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलई प्रत्यायोजन गरेको छ ।माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले कारबाही फिर्ताको निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौती र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारीबारे जानकारी गराए थिए ।

बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभावलगायतका समस्या सम्बोधन गर्न राज्यका सबै क्षमता र सबै कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ । यस्तै नेपाल- खनाल समूहका सांसदहरूले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उनले उल्लेख गरे ।

उनले नेपाल-खनाल समूहले विगतमा पनि दलको अध्यक्षलाई अध्यक्षबाट, साधारण सदस्यताबाट पनि बर्खास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधि सभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढङ्गले योगदान गर्न पनि बैठकले आह्वान गरेको बताए ।

कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टीभित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि ज्ञवालीकाे भनाइ छ । 

प्रतिक्रिया