कांग्रेस पदाधिकारी बैठक बस्दै, बहुमतको सरकार दाबी गर्ने विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार (आज) बस्दैछ । अपराह्न चार बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा भइरहेको उपलब्धि र आउँदा रणनीतिको बारेमा छलफल हुनेछ ।
बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सीमा आज राति नौ बजे सकिँदैछ । तर अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रले बहुमत जुटाउन सकेका छैनन् ।
आजै दिउँसो सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेटवार्ता गरेका छन् । बहुमतको सरकारका लागि जसपाको ठाकुर पक्षले साथ नदिने बताइरहेको बेला भएको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ ।
नयाँ सरकार गठनका लागि देउवाले एमालेको माधव नेपाल पक्षका सांसदको राजीनामाको अपेक्षा गरे पनि एमालेले माधव नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेपछि गठबन्धन सरकार बनाउन कांग्रेसलाई थप हम्मे–हम्मे परेको छ ।

प्रतिक्रिया