हिमालयन र इन्भेष्टमेन्टबीच बिग मर्जर सम्झौता : बन्यो देशकै ठूलो बैंक, २ महिनाभित्र एकीकृत कारोबार

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज बिग मर्जर सम्झौता भएको छ । यी दुई बैंकबीच मर्जरसम्बन्धी सम्झौता (एमओयू) मा आज (बिहीबार) हस्ताक्षर भएको छ । हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बिग मर्जरको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
लामो छलफलपछि मर्जरमा जाने पक्कापक्कीसँगै नयाँ नयाँ बैंकको नाम भने ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ राखिएको छ । नयाँ बैंकको एकीकृत कारोबार भने २ महिनाभित्र सुरु हुनेछ । अब नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे हुनेछन् भने प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा हुनेछन् । इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे भने नयाँ बैंकको डेपुटी सीईओ हुनेछन् ।
मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकका तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नया सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा सातजनाको सञ्चालक समिति हुनेछ ।
अघिल्लो साता बसेको दुवै बैंकको छुट्टाछुट्टै बोर्ड बैठकले एमओयूको मस्यौदा पारित गरेको थियो । दुई बैंकको मर्जरपछि उपलब्ध मानव तथा अन्य स्रोतले बन्ने नयाँ बैंक थप परिस्कृत हुनेछ । दुई बैंक १:१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । नयाँ बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोडको हुनेछ ।

प्रतिक्रिया