मंगलबार, वैशाख ११, २०८१

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख ३१ गते ११:४१


लुम्बिनी । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् ।

कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका-१ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-६ बाँके निवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिक-३ बाँके निवासी ७५ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-२ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिका निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

भने खजुरा गाउँपालिका-१ बाँके निवासी ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १६७ को मृत्यु भएको छ ।

दाङमा एकै दिन छ सङ्क्रमितको मृत्यु

दाङमा थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेसन र एक होम आइसोलेसनमा बसेका सङ्क्रमितको मृत्यु भएको छ ।

सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर–७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर-८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई सङ्क्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर-१९ का ४९ वर्षीया महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिए ।

ओलीका अनुसार तुलसीपुर-९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७ः०० बजेतिर मृत्यु भएको छ । यस्तै होम आइसोलेशनमा बसेका घोराही-९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया