‘मूलभूत परिवर्तनको अनुभूति हुन अझै मिहिनेत आवश्यक छ’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिवर्तन अझै गरिनसकेको बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड-१९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा शुक्रबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही परिवर्तन भए पनि मूलभूत परिवर्तनको अनुभूति हुनका लागि अझै मिहिनेत गर्नुपर्ने अवस्थामै राजनीति रहेको बताएका हुन् ।
आफ्नै पार्टीका अध्यक्षलाई असहयोग गर्न प्रधानमन्त्रीले विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएका नेपाल खनाल पक्षले फेरि प्रधानमन्त्रीसँग सहमति गरी संयुक्त सरकार गठनमा असहयोग गरेपछि एमालेभित्रको संकट निवारण भएको हो भन्ने प्रश्नमा उनले आफूहरुको अडान यथावत् रहेको प्रतिक्रिया दिए ।
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको उनले बताए ।
‘हामी अहिले पनि कानुनी शासन मान्ने पद्धतिअनुरुप देश, विभिन्न संगठनहरु विशेष गरी राजनीतिक दलहरु चल्नुपर्छ भन्ने मान्यता राख्ने भएको हुनाले नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र मार्गनिर्देशनबमोजिम केन्द्रीय कमिटी यथावत् रहनुपर्छ र अमिल्दा कुराहरु रद्द भएर पार्टी स्वभाविक रुपमा अघि जानुपर्छ भन्ने मान्यतामा हामी कायमै छौं,’ उनले भने, ‘यस सन्दर्भमा हिजो जे जति कुराहरु भए ती कुराहरुमा केही सकारात्मक कुराहरु अवश्य भएका छन् । त्यसले ठोस आकार ग्रहण गर्न अझै बाँकी छ ।’

प्रतिक्रिया