शनिबार, वैशाख १५, २०८१

ओलीले भने- विपक्षीले आक्षेप लगाइरहुन्, सरकार विकास निर्माणमा अघि बढिरहन्छ

नेपालखोज २०७८ वैशाख ३१ गते १८:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले आक्षेप लगाइरहे पनि सरकार विकास निर्माणमा निरन्तर अघि बढिरहेको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै ठूलो सभा हल ‘गोदावरी सिटी हल’ को भर्चुअल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारले केही गरेन भनेर विपक्षीले आरोप लगाइरहे पनि सरकारले विकास निर्माणका कामहरुलाई निरन्तर अघि बढाइरहेको छ ।’ उनले कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहे पनि राष्ट्रिय महत्त्वका आयोजना र अन्य विकास निर्माणका कामहरु पनि जारी राखेको र सिटी हलको उद्घाटनले त्यसलाई पुष्टि गरेको बताए ।

गोदावरी नगरपालिका ३ मा ४३ रोपनी १५ आनामा बनाइएको सिटी हलको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । ३ रोपनीमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली र १३ रोपनीमा पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ । ध्वनि अवशोषित, भूकम्प प्रतिरोधी सिटी हलमा कम्तिमा पनि तीन हजारजना सहभागी भएर बैठक गर्न सक्नेछन् ।

भवनभित्र दुईवटा भीभीआईपी कक्ष बनाइएको छ । उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको छ ।

केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैयाँ छ ।

आयोजना भित्र हुने आन्तरिक सडक निर्माण, बगैंचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जालगायत कामहरु बाँकी नै छन् । सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव ८ किलोमिटर र चक्रपथबाट ९ दशमलव ५ किलोमिटर दूरीमा पर्छ ।

२०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माणका सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिइएको थियो ।

-फाइल तस्बिर

प्रतिक्रिया