शुक्रबार, वैशाख ७, २०८१

उपचार खर्च जुटाउन ‘सिटी सफारी’

नेपालखोज २०७९ असोज ४ गते १०:४४

मोरङ । राजीव साह भर्खर १५ वर्ष मात्र पुगे । तर उनको काँधले भने तीन दशक पार गरेको जवान छोराकोझैं पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ ।

मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउथे । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ ।

बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउँछन् । ‘डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उनकाे भनाइ छ । सफारी कुदाएर दैनिक चार/पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उनले गुनासो गरे ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउँछन् । ‘कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ’, उनले भने ।

स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिए । उनले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंँग आग्रह गरे ।

प्रतिक्रिया